नर्स–बिरामी अनुपात मिलाए मात्र गुणस्तरीय स्वास्थ्य सेवा

नर्स–बिरामी अनुपात मिलाए मात्र गुणस्तरीय स्वास्थ्य सेवा

मंगलवार, माघ १९, २०७२ साल,
रुपन्देही– नर्स र बिरामी विचको अनुपातलाई ध्यान दिइए मात्रै बिरामीले गुणस्तरीय स्वास्थ्य सेवा पाउने स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
एक नर्सले १५/२० जना बिरामीलाई हेर्नु पर्ने बाध्यताले विरामीले गुणस्तरीय सेवा पाउन नसक्ने उल्लेख गर्दै उनीहरुले गुणस्तरीय स्वास्थ्य सेवाका लागि एक नर्सले बढिमा तीनजना बिरामी हेर्न ब्यवस्था लागु हुनुपर्ने बताएका हुन् ।
नेपाल नर्सिङ्ग संघको ५८ औं स्थापना दिवसको अवसरमा रुपन्देही शाखाले शुक्रबार बुटवलमा गरेको नर्सिङ्ग दिवस कार्यक्रममा सहभागि भएका स्वास्थ्यकर्मी महिलाहरुले बिरामीको अनुपातमै नर्सहरुलाई सेवा गर्ने मौका दिएमा गुणस्तरीयसँगै ठुलो संख्यामा बेरोजगार बनेका नर्सहरुले रोजगारीको अवसर पनि पाउने बताएका थिए ।

 नर्सिङ्ग संघ रुपन्देही शाखाकी अध्यक्ष प्रभा ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा संघकी सदस्य मिना श्रेष्ठ, कमला ज्ञवाली, सुर्यदेवी बज्राचार्य लगायतले नर्सिङ्ग क्षेत्रमा दिनानुदिन उत्पादन बढ्दो भएतापनि उनीहरुले रोजगारी पाउन नसकेको उल्लेख गर्दै रोजगारीको अवसर सृजना गर्न सरकारले ध्यान दिनु पर्ने माग गरेका छन् ।